Saturday, April 22, 2023

तिमी फगत एक भोट हौ -दीर्घराज उपाध्याय || Timi ta fagat ek Vote Hou || Dirgharaj Upadhayay

 


तिमी फगत एक भोट हौ

दीर्घराज उपाध्याय


तिमी फगत एक भोट हौ

मात्र भोट
त्यस्तो भोट
जस्लाई म दारुमा किन्छु
डलर अनि भारुमा किन्छु
किन्छु म मासु भातमा  
तिमी चुनावको एक दिन भए पुग्छ मलाई
त्यसपछि तिमी मर वा बाँच
तिमी मलाई चाहिदैनौ पाँच वर्ष
त्यतिबेला सम्म तिमी मलाई नखोज्नु
म तिमीलाई सोध्ने छैन 
तिम्रो र मेरो यही हो हिसाव

हो, तिमी फगत एक भोट हौ
व्यालेटमा तिमी खसेपछि 
तिम्रो औचित्य सकिन्छ 
हो, त्यसपछि तिमी मेरो कामको रहदैनौ
तिमी खाडीमा जाउ
या भारत पस
तिमी कफिनमा फर्क
या उतै कोमामा अस्पतालमा सड
वा अंगभंग भएर बाँच
मलाई सुन्नु छैन तिम्रा गुनासाहरु
मलाई हेर्नु छैन तिम्रा घाउहरु
हो, मलाई तिम्रा गुनासाले छुदैन
तिम्रा घाउले दुखाउदैन
तिमीले जुन दिन मलाई जितायौ
मैले किन बोक्नु तिम्रो दुःखको भारी
किन सुन्नु तिम्रा गुनासाका चाङहरु ?

 

मलाई फुर्सद छैन

तिम्रा गुनासा सुन्न
मलाई डिष्टर्व नगर्नु
ओम्नीसंगको मिटिङमा व्यस्त भएको बेला
यतिलाई समय दिएको बेला
मैले भन्दिएको छु, डिष्टर्व नगर्नु
तिमीले धेरै बोल्यौ भने
तिमीले धेरै लेख्यौ भने
साईवर कानुन बनाएको छु,मैले
याद राख्नु साईबर कानुनले के गर्छ ?

तिम्रो आँशुको कुनै मूल्य छैन
तिम्रो पीडा
त्यो तिम्रो हो, नितान्त तिम्रो
तिमी जस्ताको पीडाले दुखाउने मन बोकेर 
मैले हिड्न छोडीसके, 
जुन दिन तिमीले मलाई जितायौ
हो, मैले देख्न र सुन्न छोडीसके
फेरि तिमी भन्छौ, सुन्न छोड्यो
देख्न छोड्यो

तिमीलाई भारत जान मैले भनेको हू र ?
तिमी खाडी के मलाई सोधेर गएका हौ र ?
आफैले रोजेको बाटो
र देशमा 
तिमी मर वा बाँच
भन त किन डिष्टर्व गर्छौ मलाई ?

मैले त बाडेकै हो 
विकास र समृद्धिको सपना
मैले बाडेकै हो,
चीन जोड्ने चुच्चे रेलको सपना
हो, मैले पानी जहाजका सपना पनि बाडेकै हूँ
तिमीलाई त्यसले छोएन त 
भन त त्यसमा मेरो दोष कसरी हुन्छ ?
मेरा सबै कुरा पत्याउने तिमी
अनि दोषी चाही म हुने ?
त्यो त तिम्रो गल्ती हो 

तिमी परदेशमै मरेनौ भने
कोमामा परेनौ भने
रोग लागेर सडेनौ भने
अर्को चुनावमा भोट हाल्न आउनु
त्यति बेला 
म दारु भात खुवाउने छु
तिमी मलाई 
भोटको मूल्यमा विकास नखोज्नु
तिमीले मलाई भोट दियौ
मैले दारु
हाम्रो हिसाव बराबर


तिमी भन्छौ, दिल्लीबाट हिडेर बनवासा पुगे
भन्छौ, हामी टुटी सक्यौ
भोक प्यासले गली सक्यौ
पाईताला फुटीसके
ओठतालु सुकीसके
उद्दार नगरे मर्छौ अब

तिमी मर वा बाँच
दुई तिहाई भोट दिने तिमी नै हो
पाँच वर्षसम्म ढुक्कसंग सुत्न दिने तिमी नै हो
फेरि भन्छौ, सरकार हाम्रो कुरा सुनीदेउ
महाकालीका ढोका नथुनी देउ
तिमीलाई थाह छैन, शासक सुतेको छ
व्युताउने चेष्टा नगर्नु
सजाय हुनेछ, तिमीलाई

तिमी कालीमा खस
वा कर्णालीमा हामफाल
हिड्दा हिड्दै ढलेर मर 
वा
भोक प्यासले गलेर मर
तिमी मरे 
अर्को चुनावमा मैले दारुमा 
डलर अनि भारुमा 
तिमी जस्तै अर्को भोट किन्नेछु
हो, चुनाव त्यही भोटले जित्नेछु
तिमी फगत एक भोट हौ
मात्र भोट
त्यस्तो भोट
जस्लाई म दारुमा किन्छु
डलर अनि भारुमा किन्छु
किन्छु म मासु भातमा  
तिमी चुनावको एक दिन भए पुग्छ मलाई
त्यसपछि तिमी मर वा बाँच
तिमी मलाई चाहिदैनौ पाँच वर्ष
त्यतिबेला सम्म तिमी मलाई नखोज्नु
म तिमीलाई सोध्ने छैन 
तिम्रो र मेरो यही हो हिसाव

हो, तिमी फगत एक भोट हौ

तिमी फगत एक भोट हौ -दीर्घराज उपाध्याय || Timi ta fagat ek Vote Hou || Dirgharaj Upadhayay

  तिमी फगत एक भोट हौ दीर्घराज उपाध्याय तिमी फगत एक भोट हौ मात्र भोट त्यस्तो भोट जस्लाई म दारुमा किन्छु डलर अनि भारुमा किन्छु किन्छु म मासु भ...